प्राइभेट इक्वीटी, भेञ्चर क्यापिटल संचालनका लागि ५ कम्पनीलाई अनुमति

April 13, 2022 

५ वटा कम्पनीले प्राइभेट इक्वीटी, भेञ्चर क्यापिटलजस्ता कोषको स्थापना र संचालन गर्नका लागि प्रारम्भिक अनुमति पाएका छन्।

प्रारम्भिक अनुमति पाएका कम्पनीले आवश्यक पूर्वाधार तयार गर्नुपर्नेछ। तोकिएको आवश्यक पूर्वाधार तयार गरेपछि बोर्डले अध्ययन गरेर मात्रै अन्तिम अनुमति दिनेछ।

नेपाल धितोपत्र बोर्डले ५ कम्पनीलाई  प्राइभेट इक्विटी, भेञ्चर क्यापिटलजस्ता कोषको स्थापना र संचालनका लागि पूर्वाधार तयार गर्न अनुमति दिएको हो।

यसरी अनुमति पाउने कम्पनीमा  ग्लोवल इक्विटी फण्ड, लक्ष्मी क्यापिटल मार्केट, एनआइविएल एस क्यापिटल, एनआइसी एसिया क्यापिटल र एनएमबी क्यापिटल छन्।

९ कम्पनीले आवेदन दिएकोमा विशिष्टिकृत लगानी कोष नियमावली, २०७५ बमोजिम कागजात तथा विवरण पेश गरेका यी कम्पनीले स्वीकृति पाएका हुन्।

अन्तर्राष्ट्रिय धितोपत्र बजारमा प्रचलनमा रहेको प्राइभेट इक्विटी तथा भेञ्चर क्यापिटलजस्ता कोषको स्थापना र संचालनका लागि बोर्डबाट विशिष्टिकृत लगानी कोष नियमावली, २०७५ लागू भएको छ।

नवीनतम ज्ञान, सीप क्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा वौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय गर्नेहरुका लागि यस्ता कोषबाट रकम जुटाउन सकिन्छ।

नयाँ व्यवसाय, उद्यमहरुलाई सुरुआत गर्न स्वदेशी तथा बैदेशिक लगानी आकर्षण गर्ने र नवीनतम ज्ञान, सीप क्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा वौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय गर्नेहरुका लागि अवसर प्रदान गर्न यस्ता कोष महत्वपूर्ण हुन्छ। साथै यस्ता कोषले पुँजी बजारको दायरा समेत फराकिलो हुने बोर्डको दावी छ।

पुँजी बजारमा नयाँ एवम् आधुनिक वित्तीय उपकरणको प्रयोग हुने, नवीनतम उद्यम व्यवसाय संचालनका लागि स्वदेशी तथा विदेशी पूँजी जुटाउन सहयोग पुग्ने र लगानीकर्तालाई नयाँ लगानीको अवसर प्राप्त भई देशको समग्र आर्थिक विकासमा समेत यसले टेवा पुर्याउँछ।

नेपालको पूँजी बजारमा हाल सेयर, डिवेञ्चर, सामूहिक लगानी कोष जस्ता परम्परागत लगानीका उपकरण मात्र उपलब्ध भइरहेकोमा प्राइभेट इक्विटी तथा भेञ्चर क्यापिटल कोषको नियमन व्यवस्था तथा प्रवेशसँगै नयाँ उपकरणको प्रयोग भई ‘स्टार्ट अप’ व्यवसायमा पूँजी परिचालन हुनेछ।

त्यस्तै यसबाट निजी क्षेत्रको स्रोत परिचलान हुने, उद्योग तथा परियोजनाको विकास विस्तार भई रोजगारीको थप अवसर सिर्जना हुने, व्यक्तिगत आय तथा राजस्वमा वृद्धि हुने बोर्डको भनाइ छ।

Scroll to Top