बैंकको लगानी खुम्चिँदा भेञ्चर क्यापिटलको रकम प्रयोगविहीन, एलओआई लिएकाले पाएनन् अनुमति

April 13, 2022 

काठमाडौं । चार महिनादेखि बैंक तथा वित्तीय संस्थाहरु ऋण लगानी गर्न नसक्ने अवस्थामा छन् । लगानी योग्य रकमको अभाव भएर बैंकहरु ऋण विस्तार ठप्प हुँदा भेञ्चर क्यापिटलहरुले पनि लगानी गर्न पाएका छैनन् । पर्याप्त स्रोत हुँदा पनि नियामक निकाय नेपाल धितोपत्र बोर्डले सञ्चालन अनुमति नदिँदा आशयपत्र एलओआई लिएका आधा दर्जन  कम्पनीहरुमा रहेको लगानी हुन सकेको छैन ।

खासगरी, तरलता संकटका बेला भेञ्चर क्यापिटलको महत्व बढी हुन्छ । अहिलेको अवस्थामा भेञ्चर क्यापिटलले शिथिल बन्न लागेको अर्थतन्त्रलाई माथि उकास्न महत्वपूर्ण योगदान गर्न सक्थे । तर, बोर्डले उनीहरुको पुँजीलाई डम्प बनाएर राखेको ग्लोबल इक्विटी फन्डका सञ्चालक मनिष थापा बताउँछन् ।

एलओआई लिएका ६ कम्पनीसँग मात्रै अहिले झण्डै १२ अर्ब रुपैयाँ लगानी गर्न सक्ने क्षमता छ । त्यसबाहेक अन्य भेञ्चर क्यापिटलसँग पनि ठूलो मात्रामा पुँजी थुप्रिएको थापा बताउँछन् ।

एनआईसी एसिया क्यापिटल, एनआईबीएल एस, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल, नबिल इन्भेष्टमेन्ट, र ग्लोबल इक्वीटी फण्डले एलओआई पाएका छन् । यी कम्पनीहरुले बोर्डले बनाएको नियम भित्र बसेर सम्पूर्ण प्रक्रिया पूरा गरिसकेका छन् । तर, अध्यक्ष नभएको कारण देखाएर बोर्डले उनीहरुको लगानी डम्प बनाउनुका साथै कम्पनीलाई नोक्सानीमा धकेलिरहेका आरोप लागेको छ ।

धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीका अनुसार ६ कम्पनीले बोर्डको नियमभित्र बसेर सम्पूर्ण काम सकेका छन् । तर, बोर्डले अध्यक्ष नपाएकाले निर्णय हुन नसकेको बताए । ‘बोर्डबाट ती कम्पनीको निरीक्षण पनि भइसकेको छ’ उनले भने, उनीहरुले पनि हरेक मापदण्डलाई अनुशरण गरेर कम्पनी खडा गरेको महिनौ भइसक्यो । तर, नयाँ अध्यक्ष नआएकाले निर्णय हुन नसकेको मात्र हो ।’

सरकारले गिरीलाई दैनिक कामकाज चलाउन अधिकार दिएको छ । कार्यकारी निर्देशक गिरीले निर्णय गरेर दिन मिल्दैन । तर, अध्यक्ष नहुँदैमा सञ्चालन अनुमति दिन नमिल्ने भन्ने नहुने बोर्डकै अधिकारीहरु बताउँछन् । अध्यक्ष नहुँदा पनि सञ्चालकको बैठक बसिरहेको छ । सञ्चालकहरुले दिने भनेर निर्णय गर्न सक्ने बोर्डका अधिकारी बताउँछन् ।

‘नयाँ कार्यविधि तथा कानुन बनाएर गर्नुपर्ने काम पनि होइन । सम्पूर्ण प्रक्रिया पूरा भइसकेको छ । तर, बोर्डबाट लाइसेन्स दिनुपर्ने रहेछ । अहिले बोर्डको अध्यक्ष नभएको भन्दै लाइसेन्स पाउन सकिएको छैन’ थापाले भने, ‘धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना निलम्बित हुनु एक दिनअघि बोर्डले ६ कम्पनीलाई लाइसेन्स दिन योग्य छन् भनेर छलफल गरेको थियो । अर्को बोर्ड बैठकले एलओआई पाएका सबैलाई लाइसेन्स दिने भन्ने थियो । तर, बीचमै अध्यक्ष ढुंगाना निलम्बित हुन पुगे र सबै काम रोकियो ।’

नयाँ अध्यक्ष नआई काम नहुने ?

हालका कार्यकारी निर्देशक गिरीलाई दैनिक कामकारबाही गर्न मात्रै अधिकार दिएको छ । तर, सञ्चालकहरुले बैठक राखेर लाइसेन्स दिन सक्छन् । तर, सञ्चालकहरु त्यसो गर्न चाहिरहेका छैनन् । अध्यक्ष आएपछि नै लाइसेन्स दिने पक्षमा सञ्चालकहरु छन् ।

अध्यक्ष नहुँदा पनि बोर्ड बैठक बसिरहेको छ । गिरीले एलओआई दिइसकेका क्यापिटल भेन्चरलाई लाइसेन्स दिँदा हुन्छ सुझाएका पनि थिए । तर, बोर्डले दिने निर्णय गरेको छैन ।

समयमै सञ्चालन अनुमति नदिँदाको असर

नवप्रवद्र्धक तथा उद्यमी गर्नेहरुलाई अहिले पुँजीको ठूलो आवश्यकता छ । यो बेला बैंकले पनि लगानी गर्न सकेको छैन । क्यापिटल भेन्चरसँग पुँजी थुप्रिएर बसेको छ । एकातिर पुँजी थुप्रिने अर्कोतिर उद्यमी गर्न चाहनेले पुँजी नपाउने वर्तमान अवस्था छ । यस्तो बेला बोर्डले सञ्चालन अनुमति दिएको भए क्यापिटल भेञ्चरले लगानी गर्थे । त्यसले आर्थिक गतिविधिलाई पनि सहयोग पुर्याउँथ्यो ।

‘जुन बेला बैंकबाट ऋण पाउँदैनन्, त्यसबेला बिजनेशलाई स्केलअप गर्नुपर्ने हुन्छ । त्यो बेलामा क्यापिटल भेञ्चरका लागि लगानी गर्ने अवसर हो’ नबिल इन्भेष्टमेन्टका डेपुटी प्रमुख कार्यकारी प्रमुख विकाशचन्द्र भण्डारी भन्छन्, ‘तर, बोर्डले सञ्चालन अनुमति नदिँदा कुनै काम गर्न पाएका छैनौ । कम्पनीले पनि मासिक रुपमा ठूलो नोक्सानी ब्यहोरिरहेको छ ।

बोर्डले समयमै सञ्चालन अनुमति नदिँदा समग्र इको सिष्टममै असर गरेको छ । परियोजना छनोट गरेर लगानी गर्न सकिएको छैन । विदेशी लगानी ल्याउन सकिएको छैन ।

भेञ्चर क्यापिटलले लगानी गरेका कम्पनी कालो सूचीमा पर्यो भने भेञ्चर क्यापिटललाई पनि कालो सूचीमा राख्ने कानुनी व्यवस्था छ । त्यसलाई अझै सच्याउन नसकिएको भण्डारी बताउँछन् । त्यसका अलवा दोहोरो करको मार पनि पर्ने देखिन्छ ।

परियोजनामा सहजै निस्किने अवस्था बनाइएको छैन । यी प्रावधानका प्रष्टता नभएकाले पनि लाइसेन्स पाउन नसकिएको अवस्था छ ।
‘आफूसँग पैसा छ, लगानी गर्छु भन्दा बोर्डबाट अनुमति पाइएको छैन । हामीले तीन वर्षअघिदेखि पूर्वाधार बनाइसकेका छौ । तर, कम्पनीले ठूलो नोक्सानी सहेर वस्नु परेको छ’ भण्डारीले भने ।

भेञ्चर क्यापिटलको योगदान कहाँ कहाँ हुन्छ ?

विश्वमा भेञ्चर क्यापिटलले अर्थतन्त्रको रुपरेखा नै परिवर्तन गरेको छ । ठुल्ठूला व्यवसायमा यसले लगानी गरेर देशको अर्थतन्त्र र ठूलो संख्यामा रोजगारी सिर्जना गरेको छ ।

तर, नेपालजस्ता मुलुकमा पनि भेञ्चर क्यापिटलले अर्थतन्त्रका तीन÷चार वटा क्षेत्रमा योगदान पुर्याउने गर्छन् । स्थानीय स्रोत साधन प्रयोग गरेर उत्पादन गर्ने उत्पादकमाथि भेञ्चरको लगानी हुन्छ । त्यसबाट जे वस्तु उत्पादन हुन्छ, त्यो वस्तुको आयातमा कमी आउँछ । आयात प्रतिस्थापनका लागि यस्ता कम्पनीको भूमिका महत्वपूर्ण हुन्छ ।  अर्को, यहाँ उत्पादन भएको वस्तु तथा सेवालाई विश्व बजारमा लैजाने, रोजगारी सिर्जना र उद्यमी जन्मिन्छन् ।

सबै प्रक्रिया पुर्याइयो लाइसेन्स पाइएन

बोर्डले लाइसेन्स दिनुपूर्व कार्यालय भाडामा लिएको प्रमाण बुझाउ भन्यो, बुझाइयो । कर्मचारीलाई नियुक्त गर्न भन्यो, गरियो । कानुनी सल्लाहकार नियुक्त गर भन्यो त्यो पनि गरियो । बोर्डले जे–जे काम गर्न भनेको थियो, त्यो सबै काम सकियो । तर, लगानी गर्ने बेला सञ्चालन अनुमति नदिएको भण्डारी बताउँछन् ।

फेरि, भेञ्चरका सञ्चालकले लगानीकर्तासँग प्रतिफलको ग्यारेन्टी गरेर पैसा उठाएका छन् । त्यो पैसा उनीहरुको ढुकुटीमा थन्किएर बसेको छ ।

भेञ्चर क्यापिटलको महत्व

अहिले कोभिड १९ का कारण धेरैजसो साना व्यावसायिक प्रतिष्ठानमा पुँजी अभाव भएर समस्यामा छन् । निजी क्षेत्रबाट सञ्चालन हुने इक्विटी फन्डले पुँजीको समस्या भएका त्यस्ता संस्थामा सेयर लगानी गरेर उद्दार गर्न सक्ने थापाको भनाई छ ।

अहिले समस्यामा परेका व्यवसायको सेयर स्वामित्व यस्ता इक्विटी फन्ड किन्न मात्र होइन, वाणिज्य बैंकमा भएको ऋण भेन्चर क्यापिटलले तिरिदिएर पुँजीकरण गर्न पनि सघाउ पुग्ने सञ्चालकहरु बताउँछन् ।

नविनतम् उद्यम व्यवसायलाई सञ्चालनका लागि पूँजी जुटाउन सहज भई लगानीकर्ताहरुलाई नयाँ लगानीको अवसर प्राप्त भई स्वदेशी लगानी परिचालन हुने र बैदेशिक लगानी भित्रिनका लागि समेत सहज तथा सरल हुने हुँदा देशको आर्थिक विकासमा समेत टेवा पुग्ने अर्थविद् डा. पोषराज पाण्डे बताउँछन् ।

Scroll to Top