धितोपत्र बोर्डले लाइसेन्स दिए पीईभीसी फण्डमार्फत २० अर्ब लगानी आउने

April 13, 2022 

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सहजीकरण गरे प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल (पीईभीसी फण्ड) मार्फत २० अर्ब रुपैयाँ बढी लगानी आउने देखिएको छ ।

अनुमतिपत्र (लाईसेन्स) को पर्खाईमा रहेका आधा दर्जन प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल इन्भेष्टमेन्ट कम्पनीहरुले धितोपत्र बोर्डबाट सञ्चालन अनुमति पाएमा यो वर्ष (सन् २०२२) भित्र प्रस्तावित लगानी आउने ग्लोबल इक्विटी फण्डका फाउन्डिङ म्यानेजिङ पार्टनर मनिष थापाले बताउछन् ।

अन्तर्राष्ट्रिय कोष तथा लगानी संस्थाहरु विभिन्न पीईभीसीमार्फत र आफै पनि नेपालमा आउन खोजिरहेको उनले जानकारी दिए । बोर्डले लाइसेन्स दिएमा एक वर्षभित्र नेपालमा २० अर्ब भन्दा धेरै रकम नेपालमा भित्रिने उनको दाबी छ ।

क्यापिटल नेपालसँग कुरा गर्दै थापाले डोल्मा जस्तै नेपाल केन्द्रीत अन्तराष्ट्र्रिय फण्डको रुपमा एउटा कम्पनी सिंगापुरबाट लगानी लिएर नेपाल आउन खोजिरहेको जानकारी दिए ।

यसैगरी अमेरिकाको डीएफसी, फ्रान्सको कोपार्को र डच फण्ड एफएमओ पनि नेपालमा लगानी लिएर आउन खोजिरहेको उनले बताएका छन् । एनएमबी बैंकमा एफएमओको लगानी रहेको छ । कम्पनीमध्ये कतिले यसअघि पनि नेपालमा अन्य संस्था वा पीईभीसीको माध्यमबाट नेपालमा फण्ड पठाईसकेका छन् ।  २० अर्ब रुपैयाँ भन्दा धेरै लगानी आउने बताइए पनि कुन कम्पनीबाट कति आउने उनले खुलाएनन् ।

कति कम्पनीले डोल्मा जस्तै नेपाल केन्द्रीत भएर आफै भेञ्चर क्यापिटल (भीसी) सञ्चालन गर्ने त कतिपयले क्षेत्रीय कम्पनीको अधिग्रहण गरी वा देशभित्रकै अन्य पीईभीसीमार्फत नेपालमा लगानी गर्न चाहिरहेको थापाले सुनाए ।

अहिले अध्यन तथा अवसर इक्विटी जस्ता विभिन्न प्राइभेट इक्विटी (पीई) कम्पनीहरु ‘फाउण्डिङ स्टेज’ मा रहेको हुँदा यी कम्पनीबाट पनि फण्ड आउन सक्ने थापाको भनाई छ ।

‘अहिले हाम्रो ग्लोबल इक्विटी फण्डले ३ अर्ब रुपैयाँको भीसी फण्ड चलाइरहेको छ, अन्य ईक्विटी तथा भेन्चर क्यापिटलहरले पनि २ २ अर्ब मात्र पनि बजारमा चलाउन सके भने १४ देखि १५ अर्ब रुपैयाँ त यहाँबाटै फण्ड आउने देखिन्छ’ थापा भन्छन् ।

यी फण्डहरु लगानीका लागि पोर्टफोलियो कम्पनीहरु पाइपलाईनमा रहेका छन् । नेपालमा सन् २०१५ देखि सुरु भएको पीईभीसी विस्तारै ठूलो उद्योगमा रुपान्तरण हुँदै उद्यमशिलताको विकासमा मूख्य भूमिका खेलिरहेको उनले बताए ।

बोर्डले लाइसेन्स नदिँदा भेञ्चर क्यापिटलहरुले लगानी गर्न पाएका छैनन् ।  आधा दर्जन इक्विटी फण्डहरुले आशयपत्र (एलओआई) लिइसकेको छन् । बोर्डले उनीहरुको पुँजीलाई डम्प बनाएर राखेको फण्डका सञ्चालकहरु बताउँछन् ।

एलओआई लिनेमा  एनआईसी एसिया क्यापिटल, एनआईबीएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल, नबिल इन्भेष्टमेन्ट, र ग्लोबल इक्विटी फण्ड हुन ।

नेपाल उद्योग परिसंघ (सीएनआई) को युवा उद्योगी फोरम (सीएनआइवाइईएफ) ले पीभीसी फण्डमार्फत लगानी ल्याउने विषयमा अन्तरक्रिया आयोजना गरेको थियो ।

Scroll to Top