बैंकले नपत्याएका स्टार्टअपलाई भेन्चर क्यापिटलको भरथेग

April 13, 2022 

काठमाडौं । भेन्चर क्यापिटल लगानीको एक विशिष्टीकृत माध्यम हो । खास गरी निजी क्षेत्रमा युवाको अग्रसरतामा यो अवधारणा सुरु भएको मानिन्छ । जुन क्षेत्रले तीव्र विकासको सम्भावना बोकेको छ, त्यसमा युवाको आगमन भइसकेपछि यसले गति लिएको हो । भेन्चर क्यापिटलको लक्ष्य पुँजी आर्जन गर्नु नै हो ।

जो वास्तविक भेन्चर क्यापिटल सञ्चालन गर्छन्, उनीहरु लगानीका लागि जहिले पनि सम्भाव्य र प्रतिस्पर्धी क्षमता बढी भएको क्षेत्रको पहिचानमा लागेका हुन्छन् ।

त्यसकारण भेन्चर क्यापिटल इन्भेस्टरहरूबाट पुँजी निर्माणमा मात्र सहयोग नपुगी यसले दक्षता–ज्ञान अभिवृद्धि र बजारीकरण तथा नेटवर्किङमा समेत सहयोग पुगिरहेको हुन्छ । बैंक तथा वित्तीय संस्थासँगको पुरानो सम्बन्ध, उत्पादन र मार्केटिङसँगको सम्बन्ध तथा अन्य ‘इनपुट’ लिनसमेत भेन्चर क्यापिटलमार्फत सहयोग पुग्छ ।

एक सम्भावनायुक्त उद्यमीलाई सहयोग गर्ने उद्देश्यसहित वास्तविक भेन्चर क्यापिटलको अवधारणा अघि बढेको हो । सहयोग गर्ने अनेक उपाय हुन सक्छन् । त्यसमध्ये मुख्य त एउटा आइडियालाई उत्पादन तथा सेवामा परिणत गर्न यस्ता भेन्चर क्यापिटलिस्टहरूले सहयोग गर्छन् । यो आर्थिक रूपमा हुन सक्छ । ज्ञान र सीपका माध्यमबाट हुन सक्छ वा नेटवर्क । यी माध्यमबाट भेन्चर क्यापिटलिस्टहरूले नयाँ उद्यमीलाई सहयोग गरिरहेका हुन्छन् ।

ऐतिहासिक रुपमा सन् १९३९ मा पहिलोपटक यो अवधारणा अघि बढेको थियो । तर, सम्भावना बोकेका क्षेत्रमा लगानीका लागि सहयोग गर्ने गरी सुरुवात भने दोस्रो विश्वयुद्धपछि नै भएको हो ।

१९५० पछि भने अमेरिकाबाट भेन्चर क्यापिटलको विकास भयो । अहिले जति पनि नाम कहलिएका कम्पनी छन्, ती सबै भेन्चर क्यापिटलकै लगानीबाट आएका हुन् । अमेजन, एप्पल, अमेरिका अनलाइन, फेसबुक, गुगल, याहु र नेटस्केपलगायत जति पनि नाम कहलिएका ब्रान्ड छन्, यी सबैले भेन्चर क्यापिटलमार्फत भएको लगानीमा तीव्र विकास गरेका हुन् ।

यी त सूचना–प्रविधिसँग सम्बन्धित प्रतिनिधिमूलक संस्था मात्र हुन् । युरोप र अहिले तीव्र विकासको क्रममा रहेको चीन र जापानमा समेत भेन्चर क्यापिटल प्रशस्त मात्रामा आएको छ । तर, अमेरिकामा जस्तै प्रभावकारी रूपमा कम्पनी अघि आउन सकेका छैनन् । यद्यपि बेलायतको एआरएम होल्डिङ, क्यानडाको रिचर्स इन मोसन र लक्जेम्बर्गको स्काइप पनि भेन्चर क्यापिटलकै माध्यमबाट विश्वव्यापी रूपमा फैलिन सफल कम्पनी हुन् । विश्वव्यापी रूपमा हेर्ने हो भने नयाँ आइडियालाई व्यवहारमा उतारेर सेवा र उत्पादनमा रुपान्तरण गर्न भेन्चर क्यापिटलले निकै ठूलो सहयोग गरेको छ ।

नेपालको सन्दर्भमा लगानी सम्भाव्यताको विषय त्यत्ति धेरै नौलो रहेन । खास गरी मुलुकभित्र राजनीतिक स्थायित्व छ । सबै राजनीतिक दलको एजेन्डामा आर्थिक विकास र समृद्धि पहिलो प्राथमिकतामा देखिन्छ । दलहरू विकासको सन्दर्भमा निकै सचेत देखिन्छन् । अर्काेतर्फ अहिले नेपालको जनसांख्यिक संरचनामा युवाको बाहुल्य छ । युवा उमेरका मानिसको संख्या ठूलो छ । यो उमेर नै सिर्जनशील हो । जोखिम लिएर उद्यमी बन्न खोज्ने उमेर नै युवा हो ।

तर, यो समूहलाई नेपालमा सुरुवाती पुँजीकै अभाव छ । उनीहरुसँग लगानीका पर्याप्त उपाय छन् । तर, पैसा छैन । त्यसकारण पनि नेपालमा भेन्चर क्यापिटलको सम्भावना निकै धेरै देखिन्छ ।

अहिले नेपालमा पैसा चाहियो भने बैंकमा जाने हो । सिद्धान्ततः बैंकले ऋण माग्न जाँदा धितो माग्छ । त्यसमा पनि बैंक नयाँ ग्राहकभन्दा पुराना ग्राहक, जोसँग लामो समय कारोबार भएको छ, उनीहरूसँगै बढी रमाइरहेका हुन्छन् । नयाँ लगानीकर्तालाई त्यत्ति धेरै वास्ता गर्दैनन् । त्यसकारण लगानी खोज्नसमेत केही नयाँपन ल्याउनु आवश्यक छ । जसमा सम्भावना पनि छ । बैंकले आँट नगरेका, देख्न नभ्याएका र नसकेका नयाँ ट्यालेन्टलाई मूलधारमा ल्याउने हो भने भेन्चर क्यापिटल यसमा सफल साबित हुन सक्छ । कारण, नेपालका बैंकहरु नयाँभन्दा परम्परगत रुपमै रमाइरहेका देखिन्छन् ।

बैंकले नपत्याएको अवस्थामा नयाँ लगानीकर्तासँग अर्को उपाय सानो पुँजीबाट व्यवसाय थाल्ने र कमाएको नाफालाई पुँजीमा रुपान्तरण गर्दै व्यवसाय बढाउने हो । तर, यो निकै सुस्त गतिमा हुने प्रगति हो । सानो पुँजीले मानिससँग भएको आइडिया र बजारको सम्भावनालाई पूर्ण रुपमा कार्यान्वयनको तहसम्म लैजान सक्दैन । त्यसकारण यो अन्तरलाई पूर्ति गर्न भेन्चर क्यापिटल नेपालमा आवश्यक देखिन्छ ।

यही आवश्यकता देखेरै होला, क्रमशः नेपालमा पनि भेन्चर क्यापिटल आउन थालेका छन् । यसमध्ये पनि स्टार्टअपलाई फन्ड गर्न सक्ने पुँजी भने यी भेन्चर क्यापिटलमा कम नै छ । यससँग भएको पुँजी सबैजसो लगानी भइसकेको छ ।

नेपालमा भेन्चर क्यापिटलको लगानी हरेक जसो कम्पनीमा अधिकतम नभई न्यूनतम रुपमा छ । अधिकतम सेयरमा उनीहरुले लगानी गर्न सकिरहेका छैनन् । नेपालको ऊर्जा, कृषि, आतिथ्य सेवा, सूचना प्रविधि, स्वास्थ्य, पर्यटनमा पनि उनीहरुको लगानी देखिन्छ । त्यसमध्ये पनि सबैभन्दा धेरै ऊर्जा मै लगानी रहेको पाइन्छ । जलविद्युत् र वैकल्पिक ऊर्जामा उनीहरुको लगानी धेरै देखिएको छ ।

नेपालको सन्दर्भमा भेन्चर क्यापिटललाई नियमन गर्ने र हेर्ने गरी अहिलेसम्म कुनै पनि कानुन आइसकेको छैन । अहिले भएकै फरक–फरक ऐन, नियम मातहत उनीहरुले काम गरिरहेका छन् । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन उनीहरुतर्फ आकर्षित हुने गरेको छ । यहाँ भएका सबैजसो भेन्चर क्यापिटलमा लगभग विदेशी लगानी नै छ ।

नेपालमा लगानीको वातावरण पनि छ । युवा पनि छन् । काम गर्ने जोस र जाँगर पनि छ । आइडिया पनि छ । त्यसो भए लगानी जुटाउने यस्ता भेन्चर क्यापिटलहरु किन थोरै छन् ? भएका भेन्चर क्यापिटलमा पनि किन लगानी कम छ ? यसको मतलब केही न केही विषय नेपालमा छ, जसले उनीहरुको प्रवेशलाई कठिन बनाइरहेको छ ।

यसमा पहिलो विषय उनीहरुले गर्ने लगानीको सीमा नै कम भयो । उनीहरु विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनमार्फत नेपालमा आउँदा लगानीको दायरा खुम्चिहाल्छ ।

औद्योगिक व्यवसाय ऐनले उद्योगभित्र मात्र दायरा खुम्चाइदिन्छ । प्रविधि हस्तान्तरण ऐनले कालोसूचीमा नपरेको कम्पनीका रुपमा यस्ता कम्पनीको दायरा खुम्च्याइदिन्छन् । अर्थात् ती सर्त पूरा भएका व्यवसायमा मात्र भेन्चर क्यापिटलले मुख्य लगानीकर्ताका रुपमा लगानी गर्न सक्छन् । यसको मतलब दायरा कम हुनु हो ।

नेपालबाहेक भारत तथा अन्य मुलुकमा अलि फराकिलो वातावरणमा उनीहरुले लगानी गरिरहेका छन् । अहिले विदेशी लगानी हुन कम्तीमा ५ करोड रुपैयाँ हुनुपर्ने प्रावधान छ । त्यस ऐनअनुसार आयो भने उसले सानो लगानीमा स्टार्टअप व्यवसाय गर्छु भन्ने युवालाई त लगानी नै दिन नसक्ने भयो । किनकि व्यवसाय सुरु गर्नेले सीधै ५ करोड रुपैयाँ पुँजी नजुटाउन सक्छन् ।

ऋण लगानी गर्न नसक्ने भए । यसले ऐन नियमबाट पनि उसको गतिविधिमा नियन्त्रण छ । अर्कोतर्फ कर प्रणालीले समेत भेन्चर क्यापिटललाई सहयोग गरिरहेको छैन । जसले गर्दा उनीहरु नेपालमा फस्टाउन सकिरहेका छैनन् । अर्काेतर्फ नेपालको कालोसूचीसम्बन्धी नियमले पनि भेन्चर क्यापिटललाई फस्टाउने वातावरण दिन सकिरहेको छैन । भेन्चर क्यापिटलले धेरै कम्पनीमा लगानी गर्नुपर्ने हुन्छ । त्यो पनि स्टार्टअप व्यवसायमा । यस्ता व्यवसायमा सफल भन्दा असफल हुनेको दर बढी हुन्छ । त्यसकारण भेन्चर क्यापिटलिस्टहरुको लगानी त जोखिममै हुन्छ । हाम्रो प्रणालीले उनीहरुलाई ऋण प्रवाहमा रोक लगाएपछि आफैं व्यवस्थापनमा बस्ने गरी सेयरमा लगानी गर्नुपर्ने हुन्छ ।

यसले स्टार्टअपलाई सिकाउन र स्थापित गराउन निकै सहयोग पुग्छ । तर, कुनै एउटा कम्पनीले बैंकको ऋण तिर्न सकेन भने कर्जा सूचना केन्द्रमा त्यसको नाम जाने र उसले कालोसूचीमा राखिहाल्ने नियम छ । जब एउटा भेन्चर क्यापिटल बोर्डमा रहेको कम्पनी कालोसूचीमा जान्छ, त्यसपछि उसले अन्य कुनै पनि कम्पनीबाट बैंकसँग कारोबार गर्न सक्दैन ।

एउटा कम्पनी असफल हुँदैमा भेन्चर क्यापिटल बोर्डमा बसेको सबै कम्पनीमा केही गर्न नपाउने गरी हुने रोक्काले यहाँ उनीहरुले लगानीमैत्री वातावरण देख्दैनन् ।
नेपालमा भेन्चर क्यापिटल आयो, लगानी थाल्यो र उसले सम्भावना देखेको क्षेत्रमा थप लगानी ल्याउनुपर्यो भने उसलाई खासै बाटो छैन । यहाँ पैसा भएका केही सीमित कोष छन् । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र केही बिमा कम्पनीहरुसँग अहिले पर्याप्त मात्रामा पैसा छ ।
तर, यी संस्थाले आफ्नो लगानी निजी क्षेत्रमा विस्तार गर्नुलाई जोखिमपूर्ण ठान्छन् । उनीहरु सरकार ग्यारेन्टी बस्ने सरकारी ऋणमा मात्र लगानी गर्न इच्छुक देखिन्छन् । नत्र पैसा लगेर बैंकमा राख्छन् । यसप्रकार भेन्चर क्यापिटलले नेपालभित्र थप लगानी पाउने अर्काे बलियो संस्थाको समेत साथ पाउन नसक्दा पर्याप्त लगानी जुटाउन नसक्ने अवस्था रहन्छ ।

एउटा भेन्चर क्यापिटल सधैंभरि एउटै कम्पनीमा टाँसिएर बस्न सक्दैन । एउटा समयपछि सो कम्पनीबाट आफूले पाउने नाफा लिएर फिर्ता जान खोज्छ  । तर, नेपालको ‘एक्जिट’ प्रणाली वा नीति यति झन्झटिलो छ कि कम्पनीले नेपालमा लगानी त भित्र्याउन सक्छ यहाँबाट फिर्ता जान निकै मुस्किल छ । एउटा भेन्चर क्यापिटल कुनै कम्पनीमा लगानी गरेर आयो भने उसको रकम ३ वर्षसम्म त त्यहाँ राख्नैपर्छ, निकाल्न पाउँदैन ।

अन्य मुलुकको उदाहरण हेर्ने हो भने लकअप पिरियड एक वर्ष मात्र राखिएको हुन्छ । कुनैकुनै देशमा २० प्रतिशतसम्म ३ वर्षको लकअप पिरियड राखेर अन्य लगानी लैजान सक्छ । यसले पनि भेन्चर क्यापिटलको विकासमा रोक लगाइरहेको छ ।

नेपालमा विदेशी लगानीमा स्टार्टअप बिजनेसलाई प्रवर्धन गर्न चाहेको हो र त्यसका माध्यमबाट धेरै युवालाई स्वरोजगार बनाउने हो भने भेन्चर क्यापिटलमैत्री ऐन, नियम आवश्यक देखिन्छ । यसमा भेन्चर क्यापिटलकै लागि लक्षित गरी विशेष ऐन ल्याउन सकिन्छ । अथवा भइरहेकै ऐन नियमलाई पनि समसामयिक परिवर्तन गरेर भेन्चर क्यापिटल फस्टाउन सक्ने वातावरण बनाउन सकिन्छ । अहिले आन्तरिक रुपमा भेन्चर क्यापिटल आउन सकेको छैन ।

अब स्थानीय भेन्चर क्यापिटल आउन सक्ने वातावरण बनाउनुपर्छ । त्यसका लागि विदेशी भेन्चर क्यापिटलले नेपालमा शाखा खोल्न सक्ने गरी व्यवस्था ल्याउनु जरुरी छ । अर्कोतर्फ सरकार आफैंले पनि भेन्चर क्यापिटल सञ्चालन गरी जहाँ निजी क्षेत्र जान सक्दैन, त्यस क्षेत्रमा सरकारको तर्फबाट लगानी गर्ने गरी सञ्चालनको वातावरण बनाउन सकिन्छ । बढी जोखिम हुने क्षेत्रमा निजी भेन्चर क्यापिटलले लगानी गर्दैन । त्यस्तो अवस्थामा सरकारी भेन्चर क्यापिटलमार्फत युवा स्वरोजगार तथा उद्यमी उत्पादन गर्न सकिन्छ ।

अर्काेतर्फ हाम्रो शैक्षिक प्रणालीमा समेत सुधार गरी अब भेन्चर क्यापिटलको माग बजारबाटै हुने वातावरण किन नबनाउने ? बजारमा माग बढ्यो भने कम्पनीहरु स्वतः आउँछन् । हिजो कक्षाकोठामा सैद्धान्तिक रूपमा सिकेको सीपलाई व्यवहारमा कसरी उतार्ने भन्नेबारे सिकाउने उचित शैक्षिक वातावरण बन्ने हो भने त्यसले पनि मुलुकमा भेन्चर क्यापिटलको विस्तारमा सहयोग पुग्ने थियो ।

Scroll to Top